साहित्यिक खबर

जे.सागर /युएई ।
रोजगारी र व्यवसायको सिलसिलामा करिब चार लाख नेपाली बसोबास गर्ने मध्यपूर्वको एउटा मुलुक युएईमा अन्य देशको तुलनामा उल्लेख्य संख्यामा नेपाली साहित्यका सर्जकहरु भएको देशपनि हो ।पछिल्लो समय सामाजिक सञ्जालका भित्ताहरुलाई मात्र नियाल्ने हो भनेपनि यो कुराको पुष्टि हुन्छ ।त्यसो त सामाजिक सञ्जालको लोकप्रियता चुलीनु अगावै यहाँ रहेका साहित्यिक व्यक्तित्वहरुले नेपाली साहित्यको जगेर्नार्थ विविध कार्यक्रमहरु गर्दै आएका थिए । रंगवादी कवि समदर्शी काइला ,कवि निमेष गिरि ,गजलकार दलवीर सिंह बराइली घायल लगायतका सर्जकहरुले आधा दशक अगाडि नै यहाँको साहित्यिक माहोललाई एउटा उचाइमा पुर्याएका थिए ।
समयक्रमसँगै त्यो सक्रियता र निरन्तरता ओरालो लाग्दै गएको बेला गजलकार जे सागरको प्रमुख संयोजनमा इनास युएईले प्रकाशन गरेको एक सय एकाउन्न जनाको संयुक्त गजल संग्रह प्रवासका अक्षरहरुको प्रकाशन,बिमोचन र त्यसको लगत्तै आयोजना गरेको युएईव्यापी गजल प्रतियोगिताले सुस्ताएको युएईको साहित्यिक माहोलमा पुनः एकपटक तरंग पैदा गरेको थियो ।त्यस पश्चात् सगरमाथा साहित्यिक मञ्चले प्रकाशन गरेको अक्षरका फूलहरु कविता संग्रह र प्रतिबिम्ब साहित्यिक संगालोको प्रकाशन पछि युएईको साहित्यिक गतिविधि ठप्प प्राय भएको थियो ।
डेढ वर्ष भन्दा बढी सुस्ताएको युएईको साहित्यिक आकाशमा पुनः एकपटक आशाका किरणहरु देखिन थालेका छन् । सर्जकहरु केवल सामाजिक सञ्जालमुखी मात्रै हुन थालेको,मेहफिलको आनन्द पाउन छोडिएको र प्रत्यक्ष भेटघाटबाट बढ्ने आत्मीयता केवल लाइक र कमेन्टको औपचारिकतामा सिमित रहेको आरोपहरुका बिच युएईका सर्जकहरुले पुन प्रत्यक्ष वाचनको अभ्यासलाई निरन्तरता दिने गरि हिजो ०३ जुन २०१६ बाट यसको शुरूवात गरेका हुन्  ।
नेपाली गजल विधाका अग्रणी व्यक्तित्व टक गुरुङको अगुवाइमा पछिल्लो पुस्ताका सक्रिय जे. सागर, सुरेश प्रसाद अर्याल ‘कान्छो’, टपन जि एम प्रमोद निषाद,इन्धन डि बि भण्डारी ,अमन एकल, राजीव जि सि संघर्षी ,कृष्ण विश्वकर्मा ,नवराज क्षितिज ,अथाहमान सागर, ईश्वर च्याङ्बा ,सेल्कर पाख्रीन तामाङ, किरण चापगाइ, लक्ष्मण कुँवर ,ऋतु सन्धी ,शिव चालिसे लगायतका सर्जकहरुले यस अभियानमा साथ र सक्रियता देखाएका छन् ।
हरेक दुई महिनाको अन्तरालमा युएईका भिन्न भिन्न शहरमा आयोजना गरिने अवधारणामा शुरु भएको हिजोको पहिलो शृङ्खला दुबई स्थित सिन्ध पन्जाव रेष्टुरेन्टमा सम्पन्न भएको थियो । करिब २० जना सर्जक र सोही हाराहारीमा दर्शक तथा श्रोताहरुको उपस्थित रहेको कार्यक्रम पश्चात् सर्जकहरुमा उत्साहको संचार भएको प्रष्टै देख्न सकिन्थ्यो । उक्त कार्यक्रममा वाचन भएका सिर्जनाहरुलाई उज्यालो नाइन्टि नेटवर्कको लोकप्रिय गजल कार्यक्रम ‘बुलबुल’ मार्फत अडियो र लाइक नेपाल डट कम मार्फत भिडियो प्रशारण गरिने व्यवस्था गरिएको हुँदा सर्जकहरु थप उत्साहित देखिन्थे ।साथै सर्जक नबराज क्षितिजले कालिका एफ एम र रेडियो अन्नपूर्णबाट पनि कार्यक्रमको प्रशारण गर्ने व्यवस्था मिलाउने जानकारी दिनुभएको थियो ।
सिर्जना वाचन पश्चात् समकालीन नेपाली साहित्यको धार (विशेषतः गजल विधा)माथी छलफल गर्दै आगामी कार्यक्रम अगष्ट महिनाको पहिलो शुक्रबार शारजाहमा आयोजना गर्ने निर्णय सहित कार्यक्रम समापन भएको थियो ।
साभार :- लाईकनेपाल डट कम  

No comments:

Post a Comment