Friday, June 10, 2016

गजल



निभा'कै छु जिम्मेवारी कोही पनि खुसी छैनन् !
के गरौं म हे मुरारी ! कोही पनि खुसी छैनन् !
घर भाँड्ने आइमाई कुरा नसुनाउनु भनेको'थें ,
न त आमा न बुहारी कोही पनि खुसी छैनन् !
असीम तृष्णा भर्दिएर गल्ती गरे ब्रह्माजीले ,
यो लोकका नरनारी कोही पनि खुसी छैनन् !
बजेट विनियोजन गर्दा सिधै गाउँ पठाइयो,
मातहतका अधिकारी कोही पनि खुसी छैनन् !
फोटोभरि पराइ नारी आहा ! भनी र्याल काढ्छन्
अचेल तपाई हाम्रा प्यारी कोही पनि खुसी छैनन् !
डाक्टर पाइलट मन्त्री बन्नु भन्थे आशिष दिनेहरु !
गजलकारको भो चिनारी कोही पनि खुसी छैनन् !
©जे.सागर

गजल

गजल 

त्यति दौडिनु राम्रो जति आफ्नो तागत हुन्छ
हद भन्दा दूर पुगे फर्किन आपत हुन्छ
सत्य पनि झूट जस्तो लाग्दछ सही कुरा हो
जब जब यो दुनियाँमा झूटको बहुमत हुन्छ
बरु भालुलाई पुराण सुनाउनु ठीक होला
मान्छेको बुझ पचाउने जो आदत हुन्छ
दिउँसोमा के काम भनेर टुकी फ्याकिदियौ
रात परेपछि एकदम ठूलो मनखत हुन्छ
दुश्मनले छातीमा कुल्चिन नसके बुझ्नुस्
पिठ्युँमा प्रहार आफन्तहरू मार्फत हुन्छ
©प्रमोद निषाद